४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

आन्तरिक पर्यटकीय गन्तव्य बन्दै धिमीचौर 



  • आफ्नै खबर
  • १८ साउन २०८२ आईतबार (२ हप्ता अघि)
  • पाठक संख्या ९४
  • जुम्ला/  चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

    यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् ।

    यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउने भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको समाजसेवी एवं स्थानीय नेता सुरेन्द्रबहादुर महतले बताउनुभयो । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।’

    घना जङ्गलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिनुभयो ।

    धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गर्नुभयो । फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो ।’

    –रासस