३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष



  • आफ्नै खबर
  • १९ साउन २०८२ सोमबार (२ हप्ता अघि)
  • पाठक संख्या ८९
  • काभ्रेपलाञ्चोक/  यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा कोष स्थापना गरिएको हो । 

    मन्त्री थापाले व्यक्तिगत ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेडक्रसले विपद्मा धेरै काम गरेको छ । यसरी जिल्लामा ब्लड बैङ्क स्थापना गर्नु निकै सराहनीय कार्य हो । यसको निरन्तरता हुनुपर्छ ।’ उहाँले बागमती सरकारबाट २५ लाख रुपैयाँ कोषमा राखेको जानकारी गराउनुभयो । 

    उक्त अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले कोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै  जिल्लावासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्न अभियान थालिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप व्यवस्थापन तथा प्रविधिमैत्री बनाउन छ ।

    अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही एक लाख रुपैयाँका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा पाँच लाख, पनौती उपशाखाले एक लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले एक लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले ५५ हजार, बनेपाका देशसुधार भैलले ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    –रासस