४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन



सदरमुकाम मार्तडीबाट बाजुराको बडीमालिका मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न जाँदै तीर्थयात्री । जनैपूर्णिमाको अघिल्लो दिन साउन चर्तुदशीमा हरेक वर्ष बडीमालिकामा मेला लाग्ने गर्छ । नेपालको प्रमुख मन्दिरहरूमध्ये बडीमालिका पनि एक हो । तस्बिरः प्रेम रौले
  • आफ्नै खबर
  • १९ साउन २०८२ सोमबार (२ हप्ता अघि)
  • पाठक संख्या ९५
  • कालीकोट/  बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

    यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा हुँदैछ । पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो । 

    स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक टोली आइतबार बडिमालिकातर्फ पठाएको नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो । 

    ‘बडिमालिकामा लेक लाग्ने, दम बढ्ने, अन्य दुर्घटनालगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी टोली पठाइएको हो’, उहाँले भन्नुभयो, ‘रास्कोटको बाटो हुँदै एक हजार पाँच सयभन्दा बढी तीर्थयात्री बडिमालिका गएका छन् ।’

    कालीकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ । शिविरका लागि रास्कोट नगर अस्पतालका डा. कमलप्रसाद बराल, जनकराज न्यौपाने, नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको नगर प्रमुख शाहीले बताउनुभयो ।

    विगत वर्षमा तीर्थालु लेक लागेर बिरामी पर्ने गरेका थिए । यस वर्ष त्यस्तो समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । देशभरका श्रद्धालु बडिमालिकाको दर्शन गर्न जाने गर्छन् ।

    –रासस