४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

डोको बुनेरै वर्षको आठ लाख !



  • आफ्नै खबर
  • २० साउन २०८२ मंगलबार (२ हप्ता अघि)
  • पाठक संख्या ९३
  • भोजपुर/  टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्द्रबहादुर तामाङले डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । 

    प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको हो ।

    स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिनुभयो ।

    ‘निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु’, तामाङले भन्नुभयो, ‘एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

    उहाँका अनुसार स्थानीय बजारमा प्रतिवटा तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा डोको बिक्री हुन्छ । ‘डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ’, तामाङले भन्नुभयो, ‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’

    आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताउनुभयो ।

     सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिनुभयो । 

    प्रविधिको विकाससँगै गाउँघरमा  नाङ्लो, डोको, थुन्से, फिपी, ढाकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताउनुभयो ।

    गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उहाँले यस्ता परम्परागत कामलाई व्यवसायिकरण गर्नसके अझ सहज हुने उहाँले धारणा राख्नुभयो । परम्परागत पेसालाई व्यवसायिकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    –रासस