४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

सिंहदरबारमा चखाइयो कोदोका १० थरि परिकार



  • आफ्नै खबर
  • २० साउन २०८२ मंगलबार (२ हप्ता अघि)
  • पाठक संख्या १००
  • काठमाडौँ/  नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।

    नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिनुभयो ।

    परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताउनुभयो । कोदोको महत्त्व आमनागरिकसम्म पुर्याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘यहाँ कोदोको परिकारलाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पुर्याउन जरुरी छ ।’

    कोदो उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएको उहाँको भनाइ थियो । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्ने धारणा उहाँले राख्नुभयो ।

     अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो । मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय कोदो दिवसका सन्दर्भमा कोदो विशेष परिकार बनाइएको हो ।

    वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले स्वास्थ्यवर्द्धक कोदोको उत्पादन वृद्धि गर्दै यसको प्रवर्द्धन र व्यवसायिकरण गरी कृषकलाई खेतीतर्फ आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा कोदोको परिकार हेपिएको खाना भए पनि सहर र आधुनिक जीवनशैलीमा यो स्वास्थ्यका लागि महत्त्वपूर्ण र लोकप्रिय बनिरहेको बताउनुभयो ।

    सेफ कँडेलले लोप हँुदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाली कृषकद्वारा उत्पादित कृषिउपजको उपयोग गर्दै स्वास्थ्य र सचेतना अभिवृद्धिका लागि कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

    -रासस