९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

ठूलोखोला जलविद्युतको परीक्षण उत्पादन सुरु



  • आफ्नै खबर
  •     (४ महिना अघि)
  • पाठक संख्या १२९
  • म्याग्दी/  रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । 

    संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ ।  

    संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजना भदौको सुरुदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।  

    ‘आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन’, उहाँले भन्नुभयो, ‘विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।’

    कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार तीन सय ८२ मिटर लामो सुरूङ र ६ सय ३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युत्गृहमा पानी खसालिएको छ । 

    आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ ।  गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । 

    तीन अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सिद्धार्थ बैङ्कले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

    –रासस