रामेछाप/ नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलिब्रिज मर्मत सुरु गरेको छ ।
गत कात्तिकमा निर्माण गरिएको बेलिब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिबासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलिब्रिज मर्मत थालेका हुन् ।
गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फको ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो ।
पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो ।
यातायातका साधनको चाप बढेसँगै बेलिब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरू खुकुलो हुन थालेपछि जोखिम बढेको थियो ।
यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलिब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस