१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

फोहरमैला प्रशोधनका लागि पालिकामै उपकरण जडान



  • आफ्नै खबर
  •     (४ महिना अघि)
  • पाठक संख्या १८७
  • तनहुँ/  शुक्लागण्डकी नगरपालिकाको पाँच नम्बर वडा कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरु गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरु गरेको हो ।

    फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ ।

    असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ ।’

    गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ ।

    ‘भेर्मी कम्पोस्ट पिट’, ‘अर्ग्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो । 

    दशवर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले दुई करोड चार लाख रुपैयाँ प्रदान गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका विभिन्न उपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको छ ।

    शुक्लागण्डकी नगरपालिकाका वन, वातावरण तथा फोहरमैला व्यवस्थापन शाखाका इञ्जिनियर भीम सुवेदीले असोजदेखि फोहर प्रशोधनको काम सुरू गरिने जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहरमैला सङ्कलनका लागि ट्रस् निर्माण गरेको हो ।

    ट्रस् निर्माणका लागि २४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै २०८०/८१ मा पनि कम्पाउण्ड र ट्रस् निर्माणमा ५२ लाख ५९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

    आर्थिक वर्ष २०७५/७६ मा फोहरमैला सङ्कलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्न ५२ लाख रुपैयाँ खर्च भएको थियो भने गत आवमा फोहरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब ४५ लाख रुपैयाँको लगानीमा तटबन्धन गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिकाले हाल बजार क्षेत्रबाट सङ्कलित फोहर सेती नदी किनारमा फाल्दै आएको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापनमा सहज हुने नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो ।

    –रासस