३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

तारे होटलमा कोदोको सेल !



  • आफ्नै खबर
  • २६ साउन २०८२ सोमबार (१ हप्ता अघि)
  • पाठक संख्या १२०
  • काठमाडौँ/  नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् ।

    पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ ।

    पाँचतारे होटलको दर्जामा रहेको उक्त रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौँ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बास्नादार सेलरोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो ।

    रिसोर्टको डाइनिङ हल नै सेलरोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरूले पछि भने रोटी थपी–थपी खाए ।

    रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ–किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो ।

     नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उहाँको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले सघाउनु भएको थियो ।

    विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

    होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउनुहुन्छ । ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यवसायिकतालाई पनि जोड्नुपर्छ’, अध्यक्ष शाहले भन्नुभयो, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ ।’

    अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो ।’

    –रासस