भक्तपुर/ मध्यपुर थिमी नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।
सम्झौतामा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मध्यपुर थिमी नगरवासीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क रूपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ ।
रगतका लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।
सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताउनुभयो ।
मध्यपुर थिमी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको थियो । सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष सात सय ४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो । त्यस बापत सात लाख ३३ हजार रुपैयाँ रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखाप्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा चार सय ७९ जनाले आठ सय १४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए ।
–रासस
प्रतिक्रिया दिनुहोस