७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

लामा, बज्राचार्य र ब्राह्मण गुरुबाट महाङ्कालको संयुक्त पूजाअर्चना



  • आफ्नै खबर
  • २८ साउन २०८२ बुधबार (१ हप्ता अघि)
  • पाठक संख्या ८४
  • काठमाडौँ/  श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरुहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । 

    पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरुहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गर्नुभयो । उहाँहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा समेत गर्नुभएको थियो ।

    हिन्दु एवं बुद्ध धर्मावलम्बीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनुरूप समान रूपमा महाङ्कालको पूजाअर्चना गर्ने गर्छन् ।

    मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरुबाट आ–आफ्नो पूजा पद्धतिअनुरूप यज्ञ मण्डप स्थापना गरी महाङ्कालको पूजा गरिएको दृश्य अत्यन्त मनमोहक थियो । हिन्दू एवं बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थितिमा पूजाअर्चना गरिएको थियो । 

    हिन्दु र बुद्ध धर्मावलम्बीले महाङ्कालप्रति उत्तिकै आस्था राख्ने हुँदा धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरुबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताउनुभयो । पूजाअर्चना पछि प्रसाद ग्रहणसँगै ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सुरु गरिएको थियो ।

    –रासस