३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

ठेक्कामा रोपाइँले घटायो बाँझो जमिन



  • आफ्नै खबर
  • २९ साउन २०८२ बिहिबार (५ दिन अघि)
  • पाठक संख्या ९०
  • बागलुङ/  काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछी ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । 

    गाउँको एक हजार पाँच सय रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार दुई सय ६६ रुपैयाँमा ठेक्का लिएर उहाँहरूले रोपाइँको चाँजोपाजो मिलाउनुभएको हो । खेताला खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उहाँहरूले गरिदिनुहुन्छ । तर, त्यसबापत अग्रिम रुपमा रकम उपलब्ध गराउनुपर्छ । 

    घर्ती दम्पतीले गत असारमा एक सय ८९ रोपनीमा रोपाइँ गरेर ६ लाख १७ हजार चार सय रुपैयाँ आर्जन मात्र गर्नुभएन १० जनालाई रोजगारी पनि दिनुभयो । 

    किसान अमरबहादुरले पनि सोही महिना एक सय ८६ रोपनी खेत रोपेर ६ लाख सात हजार ६ सय रुपैयाँ कमाउनुभयो । उहाँले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गर्नुभयो । 

    नयाँ अवधारणाका साथ बाँझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उहाँहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ । 

    बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, ‘प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।’

    –रासस