चितवन/ बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी सुरु भएको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली अस्पताल आइपुगेको छ ।
अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा समेत सहयोग गर्दै छ । नेपाल सरकार र चीन सरकारकाबीचमा यससम्बन्धी सम्झौता भइसकेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार आज आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ ।
सघन उपचार कक्ष, रेडिएसन अङ्कोलोजी, प्रयोगशाला, मेडिकल अङ्कोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्ने छ ।
कार्यकारी निर्देशक डा. पौडेलका अनुसार चीनबाट नियमित रुपमा यहाँ आउने चिकित्सक टोलीको यस अघिको १५औँ टोलीका प्रमुख चाहु क्वीमिङ्गको नेतृत्व सात जना विज्ञ चिकित्सक सहभागी छन् ।
चिनियाँ टोलीलाई आज अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले यथाशक्य छिटो काम सम्पन्न गरेर बिरामीलाई सेवा दिने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।
उहाँले यसै आर्थिक वर्षभित्र काम सुरु गर्न आग्रहसमेत गर्नुभयो । क्यान्सर अस्पतालको मात्रै नभएर नेपाल सरकारकै कार्यक्रम भएकाले समयमा नै काम हुनेमा विश्वस्त हुँदै उहाँले अस्पतालका तर्फबाट गर्नुपर्ने सहयोगमा आफूहरू सधैँ तत्पर रहेको जानकारी दिनुभयो ।
उक्त अवसरमा टोली नेता क्वीमिङ्ग र अहिले क्यान्सर अस्पतालमा रहेका १६औंँ चिनियाँ चिकित्सक टोलीका प्रमुख (टिम लिडर) यान ल्याङले बोनम्यारो प्रत्यारोपणको पूर्व तयारीस्वरूप सम्बन्धित विभागमा रहेर पाँच दिनसम्म अध्ययन अवलोकन र अन्तरक्रिया गरिने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलका अनुसार हालको प्रशासनिक भवन नजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिने छ ।
यस कामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेर अन्तिम चरणको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘सम्भवत अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।’
यसका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखीकरण गरी नक्सा पास गरेको छ । भरतपुर महानगरपालिकालाई एक करोड ७८ लाख रुपैयाँ राजस्व बुझाएर नक्सा पास गरी अभिलेखीकरण गरिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएपछि चिनियाँ तर्फबाट निर्माणको काम थालिने छ ।
ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम सुरु हुने चिनियाँ टोलीले जानकारी दिएको पौडेलले बताउनुभयो । सुरुमा चार शय्याको विभाग बन्ने छ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा वार्षिक एक सय जना हाराहारीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अहिले अधिकांश बिरामी भारतका अस्पतालमा जाने गर्दछन् । जसका लागि अस्पतालले एक जनाको भारतीय रुपैयाँ २० लाख हाराहारी लिने गर्दछन् । यो सेवा यहाँ सुरु भएसँगै उपचार खर्च पनि कम हुने उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस