सुनसरी/ बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ ।
बसका सहायकको चर्को बोलावट, यात्रुहरूको हतार र सवारीसाधनका इञ्जिनहरूको गुञ्जनले भानुचोक धरानकै सबैभन्दा व्यस्त चोक बनेको छ । साँझ पर्नासाथ गाडीको चाप घटेपछि सडक छेउका खाली स्थानमा ठेलागाडासहित साना व्यापारी भेला हुन्छन् । साँझपख यहाँको वातावरण खाजाको स्वाद, साथीसङ्गीको भेटघाट र चिया गफले भरिन्छ ।
यही भीडभाडका बेला धरान–१५ की अमृता श्रेष्ठ ठेला तानेर भानुचोक आइपुग्नुहुन्छ । उहाँले विगत १० वर्षदेखि यही चोकमा मःम, चाउमिन र अण्डा रोल बेच्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘दिनभर घरको काम सकेर साँझपख यही ठेलाबाट व्यापार गर्छु । यही मेहनतले जिन्दगी रमाइलो बनाएको छ ।’
अनुभवले निखारिएको उहाँको हातले दिनमै सयौँ प्लेट मःम तयार पार्न सक्छ । कलेजबाट आउने विद्यार्थीदेखि अफिसबाट फर्कने कर्मचारीसम्म, साँझको खाजाका लागि उहाँको ठेला गन्तव्य बन्छ । पहिले ३०–३५ रुपैयाँमै मःम र चाउमिन बेचिन्थ्यो, अहिले बजार भाउअनुसार ७० रुपैयाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले व्यापारका लागि भानुचोकको एउटै कुना रोज्नुभएको छ । ठेलाबाट हुने आम्दानीले छोराछोरीको पढाइदेखि घरखर्चसम्म धानिरहनुभएको छ । उहाँ थप्नुहुन्छ, ‘कहिलेकाहीँ व्यापार कमी–बेसी हुन्छ, तर यो मःम ठेलाले दैनिक खर्च सहजै चलाउँछ ।’
अमृता जस्तै पूर्णिमा मगर पनि हरेक साँझ भानुचोकमा मःम, चाउमिन र अण्डा, रोल बेच्दै आउनुभएको छ । उहाँले यो व्यवसाय थालेको सात वर्ष भयो । महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कनु सजिलो भने थिएन । उहाँले थप्नुभयो, ‘डर लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो । तर आजसम्म हिम्मत हारिन । अहिले त बानी परिसक्यो ।’
उहाँले मःम बेच्नुअघि करिब चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गर्नुभएको बताउनुभयो । तर आम्दानी पर्याप्त नभएपछि मःमको व्यापार सुरु गर्नुभएको सुनाउनुहुन्छ । उहाँ दिनभर घरमै सामग्री तयार पारेर साँझ ५ देखि ६ बजेसम्म भानुचोक आइपुग्नुहुन्छ ।
राति १० बजेसम्म भीडभाड रहन्छ । साँझपखको चिसो मौसम, एकै ठाउँ बसेर व्यापार गर्न पाउँदा रमाइलो लाग्छ । मानिस खाजा खान आउँछन् । त्योबेला भानुचोकको वातावरण नै बेग्लै हुन्छ । व्यवसायबाट हुने आम्दानीले आर्थिक मात्र नभइ आत्मिक सन्तुष्टि र आत्मनिर्भरता पनि मिलेको उहाँको अनुभव छ ।
साँझपखको भानुचोक केबल व्यापारको केन्द्र मात्रै होइन, दिनभरको हतार, धुलो र कोलाहलबाट छुट्कारा पाउने स्थान पनि बनेको छ ।
चोकका कुनामा रहेका साना चिया पसल, फुटपाथमा राखिएका कुर्सीमा बसेर चटपटे, चाउमिन खाँदै गफ गर्नेको भिडले यस क्षेत्र साँझपख रमाइलो बनाउँछ । साँझपख ठेलाको चापसँगै ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दा ट्राफिक प्रहरी भने हैरान छन् ।
सुनसरी ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार, बिहान यात्रुको भीड रहन्छ भने साँझतिर व्यापारी र ग्राहकको चाप अत्यधिक देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘साँझतिर ठूला सवारी कम भए पनि मोटरसाइकल र साना गाडीहरू जथाभावी पार्किङ गरिन्छ, जसले सडक साँघुरिन्छ र ट्राफिक व्यवस्थापनमा कठिनाइ हुन्छ ।’
उहाँका अनुसार साँझपख ठेला व्यवसायीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले वातावरण जीवन्त त बन्छ, तर ट्राफिकका पक्षमा चुनौती भने थपिन्छ । तर, वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी आवश्यक व्यवस्थापन गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरी प्रमुख थापाका अनुसार धरानको भानुचोक बिहानैदेखि साँझसम्म व्यस्त रहने क्षेत्र हो । बिहान यात्रुहरू गन्तव्यतर्फ हतारिँदै दौडिन्छन् भने साँझतिर व्यापार गर्ने व्यापारी र खाजाका लागि आउने ग्राहकहरूको चहलपहल बढ्ने गर्दछ ।
दुवै समयमा ट्राफिकको उपस्थिति अनिवार्य हुनेहुँदा सवारी व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको उहाँको भनाइ छ । साँझपख साना सवारिसाधन जथाभावी पार्किङ गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापनमा थप अप्ठ्यारो हुने गरेको छ ।
साँझतिर युवाहरूको जमघट हुने स्थलसमेत बनेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो लिँदै रमाइरहेका त कोही कुनामा गीत गाएर मनोरञ्जन गरिरहेका दृश्य भेटिन्छ । साँझपखको झिलिमिली बत्तीले चोकको वातावरण अझै आकर्षक बनाउने गरेको छ ।
भानुचोक केबल व्यापारिक चहलपहलले भरिएको चोक मात्रै नभई ऐतिहासिक पक्ष बोकेको स्थान पनि हो । ७८ वर्षीय स्थानीयवासी मोहन श्रेष्ठका अनुसार, विगतमा भानुभक्त आचार्यको सालिक राखिएकै कारण यो चोकको नाम ‘भानुचोक’ रहन गएको हो ।
श्रेष्ठले भन्नुभयो, ‘अहिले पनि त्यही शालिक यथावत् छ । जनआन्दोलनका बेला नाराबाजी, विद्यार्थी र्याली, राजनीतिक तथा साहित्यिक गतिविधिका लागि यो चोक प्रमुख स्थल थियो ।’
उहाँका अनुसार पहिले भानुचोक आसपास सबै टिनका साना चिया पसल हुने गरेका थिए । त्यहीँ बसेर चिया पिउँदै राजनीतिक चर्चा गर्ने चलन थियो, उहाँले सम्झनुभयो । त्योबेला ठेला भन्ने शब्द नै प्रचलनमा थिएन, तर अहिले साँझपख भने भानुचोक ठेलाको व्यापारले भरिन्छ ।
धरानमा लामो समयदेखि पत्रिका बिक्रेताका रूपमा कार्यरत ७५ वर्षीय कृष्णभक्त श्रेष्ठका अनुसार पहिलेको तुलनामा भानुचोक पूर्ण रूपमा बदलिएको छ । पहिले चोक सुनसान हुन्थ्यो, अहिले भीड र चहलपहलले पुरानो स्वरूप हराउँदै गएको उहाँको भनाइ छ ।
श्रेष्ठका अनुसार २०४५ सालको विनाशकारी भूकम्पपछि हङ्कङ र मकाउमा रहेका नेपाली आप्रवासीको पहलमा ५६ लाख रुपैयाँ बराबरको लागतमा भानुचोक नजिकै घण्टाघर निर्माण गरिएको थियो । २०४८ सालमा निर्माण सम्पन्न भएपछि चोकको स्वरूप परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो ।
उहाँ सुनाउनुहुन्छ, ‘घण्टाघर बनेपछि चोकको जीवन्तता सुरु भयो । वरपर व्यापारिक गतिविधि बढ्न थाले र सहरको गतिको सङ्केत यहीँबाट पत्ता लाग्न थाल्यो ।’
उहाँका अनुसार दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोक सहरका विभिन्न भागमा जाने सवारीका लागि केन्द्रका रुपमा मानिन्छ । पत्रिका बिक्रेताका रूपमा उहाँले भानुचोकको विगत र वर्तमान नजिकबाट नियाल्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘पहिले धेरैजसो पत्रिका लिएर धरानको छाताचोक कटेर जानुपर्थ्यो, अहिले भानुचोकमै ग्राहक भेटिन्छन् । विकासले नछोएको जस्तो देखिने यो क्षेत्र अहिले धरानकै सबैभन्दा व्यस्त केन्द्र बनेको छ ।’
उहाँका अनुसार आधुनिक व्यापारिक भवन, बैङ्क, खाद्य तथा लत्ताकपडाका पसलहरू, सहरी पूर्वाधार र घण्टाघरजस्ता संरचनाले भानुचोकलाई फरक पहिचान दिएको छ । धरानको चालचुल बुझ्नेले भानुचोक हेर्यो भने सहरको विकासको गति बुझ्न सकिन्छ ।
साँझपख परिवर्तित रूपमा देखिने भानुचोक अहिले साना व्यापारीका लागि राम्रो आम्दानीको गन्तव्य बनेको छ । साथीभाइसँग जमघट हुने र सस्तो खाजाको खोजीमा आउने सर्वसाधारणका लागि पनि यो स्थान सहज र आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस