७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

स्याउखेतीमा रमाइरहेका जनप्रतिनिधि



  • आफ्नै खबर
  • ३० साउन २०८२ शुक्रबार (१ हप्ता अघि)
  • पाठक संख्या ७३
  • बागलुङ/  ६ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । 

    रोयल रेड र इटालियन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा एक सय बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । 

    हाल रोकाको बगानमा एक सय ४० बोट फल दिइरहेका छन् । उहाँको बगान चार रोपनीमा फैलिएको छ । उहाँ १० रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु ।’

    स्याउखेतीका निम्ति उहाँले एक लाख ५० हजार रुपैयाँ लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो । 

    कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सिँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउनुहुन्छ । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानकारी दिँदै उहाँले  बर्सेनि तीन सय ३१.२ मेट्रिक टन स्याउ उत्पादन भएको बताउनुभयो ।

    –रासस