७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह



  • आफ्नै खबर
  • १ भदौ २०८२ आईतबार (६ दिन अघि)
  • पाठक संख्या ९९
  • झापा/  कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।  कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाख रुपैयाँको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।

    विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख रुपैयाँ लगानी रहेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । 

    ‘शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

    कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिनुभयो ।

    गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उहाँले बताउनुभयो । विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उहाँले बताउनुभयो । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उहाँको भनाइ थियो । 

    कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । २०६७ सालमा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छ भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।

    –रासस