४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता



  • आफ्नै खबर
  • २ भदौ २०८२ सोमबार (२ दिन अघि)
  • पाठक संख्या ४८
  • काठमाडौँ/  चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।
    सिएफआरडीले आज यहाँ आयोजना गरेको कार्यक्रममा  ललितपुरका दुई र नुवाकोटको एक गाउँबीच उक्त परियोजना सञ्चालन गर्न सम्झौता भएको हो । 

    चीनको कोइलुङ र ललितपुरको गोटिखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच उक्त सम्झौता भएको हो । आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले दुई देशका जनस्तरको   सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

    आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने उहाँको भनाइ थियो । 

    ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो । समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

    उक्त अवसरमा सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आाएको जानकारी दिनुभयो । सो परियोजनाले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय सागसब्जीखेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ ।

    कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

    –रासस