४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

सुधारगृहले एक वर्षमै सुधार्यो ३९ युवाको जीवन



  • आफ्नै खबर
  • ३ भदौ २०८२ मंगलबार (१० घण्टा अघि)
  • पाठक संख्या ७१
  • कञ्चनपुर/  शुक्लाफाँटा नगरपालिका–१० झालरीस्थित नयाँ गन्तव्य नेपाल सुधारगृहले सञ्चालनको पहिलो वर्षमा ३९ जना युवालाई दुर्व्यसनमुक्त बनाउँदै घर फर्काएको छ । सुधारगृहले एक वर्षको अवधिमा ६८ जना सेवाग्राहीलाई सेवा दिएको हो । 

    हालसम्म ३९ जना दुर्व्यसनमुक्त भई घर फर्किएका छन् भने २९ जना उपचाररत छन् । चार जनाको टोलीद्वारा सञ्चालित सुधारगृहको अध्यक्ष हेमन्तसिंह रावल हुनुहुन्छ । उहाँ आफैँ पनि विगतमा दुर्व्यसनमा फस्नुभएको थियो ।

    ‘हामी पनि सुधारगृहमा बसेर सुधार भएका हौँ’, अध्यक्ष रावलले भन्नुभयो, ‘अब समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सुधारगृह सञ्चालन गरेका हौँ, दुर्व्यसनमा फसेका युवालाई उपचार गरी घर फर्काउन पाउँदा निकै खुसी छौँ ।’ सुधारगृहमा दुर्व्यसनमा फसेका व्यक्तिलाई कम्तीमा चार महिना राख्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

    उपचार अवधि सुधारको अवस्था र अभिभावकसँगको सहकार्यमा थप गरिने गरिएको सुधारगृहका स्वयंसेवक गोकर्णदेव अवस्थीले बताउनुभयो । उहाँका अनुसार अभिभावकले निगरानी नगर्दा धेरै युवा दुर्व्यसनमा फस्ने गरेका छन् । 

    सुधारगृहलाई अझै पनि समाजमा नकारात्मक दृष्टिकोणले हेरिने गरिएको परामर्शदाता धीरेन्द्र खडायतले बताउनुभयो । सात वर्षअघि आफैँ सुधारगृह बसेर दुर्व्यसनमुक्त भएका उहाँ अहिले परामर्शदाताका रूपमा कार्यरत रहनुभएको छ ।

    ‘सुधारगृहमा आएपछि धेरैको जीवन फेरिएको छ, समाजले सुधारगृहलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सुधारगृहमा बसेर फर्केका युवालाई समाजमा पुनःस्थापन गर्न सबैको सहयोग आवश्यक छ ।’

    दुर्व्यसन नियन्त्रणमा सुधारगृहको योगदान महत्त्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । 

    ‘प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन’, उहाँले भन्नुभयो, ‘युवालाई दुर्व्यसनमुक्त गराउन सुधारगृह, समाज र अभिभावकको संयुक्त प्रयास आवश्यक छ ।’ नयाँ गन्तव्य नेपालले उपचार र पुनःस्थापनामा खेलेको भूमिका सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले पनि सुधारगृहले नागरिक र परिवारलाई बर्बादीबाट जोगाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो । ‘युवामा दुर्व्यसनको लत बढ्दो अवस्थामा छ’, उहाँले भन्नुभयो, ‘यसको रोकथाममा परिवार, समाज र राज्यका निकायको सहकार्य अनिवार्य छ ।’ 

    झलारीका लागुऔषधविरुद्धका अभियन्ता हरिश धामीले समाजकै सक्रियताले मात्र युवालाई गलत बाटोबाट जोगाउनसक्ने बताउनुभयो । ‘समाजले मान्छे बनाउन सक्छ भने बिगार्न पनि सक्छ’, उहाँले भन्नुभयो, ‘दुर्व्यसनमुक्त समाज बनाउन घरघरमा सचेतना पुग्नुपर्छ ।’

    शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले सुधारगृहलाई नगरकै सम्पत्ति भन्दै यसको संरक्षण र विस्तारमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘सुधारगृह जोगाउनु र विस्तार गर्नु तीनै तहका सरकारको दायित्व हो’, उहाँले भन्नुभयो, ‘नागरिकले पनि आफ्नोतर्फबाट सक्ने सहयोग गर्नुपर्छ ।’

    उहाँले भन्नुभयो, ‘स्थानीय तहले आफ्नै लगानीमा सुधारगृह खोल्नसक्ने व्यवस्था रहे पनि खोल्न सकेको छैन, खोलिएको सुधारगृहको सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ ।’

    –रासस