४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

हजार वर्षदेखि चलिरहेको ‘गाउँ पूजा’



  • डम्मर बुढामगर
  • ४ भदौ २०८२ बुधबार (३ घण्टा अघि)
  • पाठक संख्या ४६
  • बागलुङ/  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धूपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठटाउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए । 

    यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने गाउँ पूजालाई पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् । 

    स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझ गाउँभरीका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् ।

    बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

    अनिष्ट हुन थालेपछी ‘गाउँ पूजा’ गर्न थालियो
    सुरुआती समयमा निसेलढोर गाउँमा अनिष्ट हुन थालेपछी गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ ।

    एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेको हुँदा उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउनुहुन्छ ।

    ओडारमा मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसेर पछि मान्छे मार्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्मै चल्दै आएको उहाँको भनाइ छ ।

    पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरू अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उहाँ बताउनुहुन्छ ।

    ‘बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो । अहिले पनि त्यसका अवशेष भेटिन्छन् । त्यसबेला मानिसहरू बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडेछन् । पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ’, उपाध्यक्ष घर्ती मगरले भन्नुभयो, ‘उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ । त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरेछन् । पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ । एक वर्ष पूजा गर्यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।’

    भूत धपाउन खोलामा हाम फाल्छन् युवा
    बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फाल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताउनुभो । 

    यस पुलमा दैवि शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताउनुभयो ।

    पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फाल्ने गरेको उहाँको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ ।

     उहाँले भन्नुभयो, ‘झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ । कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ । हाम्रो पुर्खाहरूले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ । यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ ।’

    संरक्षणमा युवा र पालिकाको चासो 
    गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरूले चासो दिएका छन् । यसवर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो ।

    युवाहरूले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरू लागेको गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताउनुभयो । युवाहरुलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उहाँको भनाइ छ ।

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताउनुभयो । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उहाँको भनाइ छ ।

    गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउनुहुन्छ ।

    –रासस