७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

१० रोपनी जग्गा, २ हजार ड्रागन फ्रुटका बिरुवा, पौरखीका कुरै बेग्लै



  • आफ्नै खबर
  • ५ भदौ २०८२ बिहिबार (२ दिन अघि)
  • पाठक संख्या ९०
  • कास्की/  साढे तीन दशक सरकारी जागिरमा समय बिताएर सेवा निवृत्त भएका मित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लाग्नु भएको छ । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यवसायिक ड्रागन खेतीमा लाग्नु भएको हो ।

    सङ्घीय सडक तथा सुपरीवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षाैँदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गर्नुभएको छ ।  

    जङ्गलको छेउमा अमेरिका, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, ताइवान, भारतलगायत बिभिन्न देशबाट ल्याएका ९० भन्दा बढी प्रजाति ड्रागन फलका बिरुवाले फल दिन थालेको उहाँले बताउनुभयो ।

    फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किए । बोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् ।

    पारिवारिक घुमफिरका लागि अमेरिका जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा बिरुवा गमलामा रोपेको बताउँदै उहाँले भन्नुभयो, ‘राम्रो उत्पादन दिएपछि आफ्नो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गर्ने प्रेरणा श्रोत हो ।’

    समुन्द्री सतहदेखि एक हजार एक सय मिटरको उचाइ, तीन देखि ३२ डिक्री तापक्रम, तीन देखि चार हजार मिलिमिटरसम्म औषत वर्षा रहेको उक्त १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोप्राइटरसमेत रहनुभएका कृषक त्रिपाठी बताउनुहुन्छ  ।

    उहाँले भन्नुभयो, ‘२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरु गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरु गरेको हो ।’  

    यस वर्ष उत्पादन राम्रो भएको र आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाख रुपैयाँभन्दा बढीको ड्रागन फल बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादित फल फर्मबाटै प्रतिकेजी पाँच सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । 

    उहाँले फर्म सुरु गर्नुभन्दा पहिले एक हजार ६ सय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाउनुभयो ।

    खरिदका लागि ग्राहक फर्ममै आउने र आफैँ टिपेर, तौलेर लैजानले गरेको त्रिपाठी बताउनुहुन्छ । उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उहाँको भनाइ छ । उहाँले फर्म सुरु गर्नुभन्दा पहिले एक हजार ६ सय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बजारको मागअनुसारको फल पुर्याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ ।’ 

    फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको र कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१/०८२ मा चार लाख ७७ हजार रुपैयाँ बरावरको आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको उहाँको भनाइ छ । 

    पक्की पिल्लरमा फलामे ट्रष् लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ । हिउँदको समयमा पर्ने असिनाबाट बोट र फल जोगाउँनका लागि उहाँले जाली राख्ने फ्रेम समेत निर्माण गर्नुभएको छ । 

    फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किए । बोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् । देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उहाँको सुझाव रहेको छ ।

    जग्गा बाँझो नराखौ भन्ने अभियानमा जुट्नुभएका त्रिपाठीले ड्रागन फल मात्र नभई बिरुवासमेत बिक्री गर्दै आउनुभएको छ । एउटा विरुवा दुई सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको उहाँले थप्नुभयो । फुर्केटारी ड्रागन फर्मका विरुवा नेपालको विभिन्न स्थानसहित भारतको दाजिर्लिङसम्म पुगेका छन् । 

    फर्ममा एउटा फलको तौल चार सय ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उहाँले सरकारी सेवाबाट निवृत्तिभरण भई सकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताउनुभयो । फर्ममा दैनिक दुईदेखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।

    पोखरा–२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाले आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएको बताउनुभयो । फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उहाँको भनाइ रहेको छ । 

    पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताउनुभयो ।

    बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने विज्ञको धारणा छ ।

    –रासस