७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

एउटै पालिकामा दूध उत्पादकलाई ३५ लाख अनुदान



  • आफ्नै खबर
  • ५ भदौ २०८२ बिहिबार (२ दिन अघि)
  • पाठक संख्या ८४
  • तनहुँ/  बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । 

    सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर दुई रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दूध उत्पादनमा अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याएको छ । साथै, गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि टेवा पुग्छ ।’

    बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दीपुर–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई उत्पादनका आधारमा दुई रुपैयाँका दरले अनुदान उपलब्ध गराउने गरिएको छ । 

    गाउँपालिकाले मौरीपालन, मुसुरो, तोरीखेती, च्याउखेती, मकैबाली प्रवर्द्धन, व्यावसायिक फलफूलखेती प्रवर्द्धन, बीउबिजन वितरण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ ।

    हाटबजार व्यवस्थापन तथा सञ्चालनका लागि नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै थापाले गाउँपालिकामा धर्म, संस्कृति, भेषभूषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । 

    त्यस्तै नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा गाउँपालिकाभित्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले उल्लेख गर्नुभयो । 

    गाउँपालिकाले युवाहरूलाई बजार मागको आधारमा व्यावसायिक सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम, पूर्व सिकाइ मान्यताको विधिबाट सीप परीक्षण कार्य, पालिकाभित्र उत्पादन भएका वस्तुहरूको प्रदर्शनी एवं बजारीकरणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । 

    ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा घरदैलो कार्यक्रम, नसर्ने रोग स्क्रिनिङ अभियान, विपन्न तथा कडा रोग लागेका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पहिचान निदान तथा उपचार शिविर सञ्चालनका लागि बजेट विनियोजन गरिएको थापाले बताउनुभयो ।

    –रासस