तनहुँ/ आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख नौ सय २८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६ सय ७० मेट्रिक टन दूध उत्पादन भएको हो ।
उत्पादनका आधारमा प्रतिलिटर तीन रुपैयाँका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने किसानको सङ्ख्या बढ्नुका साथै र दूध उत्पादन पनि बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रबिन्सन अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष दुधालु गाईको सङ्ख्या १३ हजार ६ सय १० रहेकामा गत वर्ष १३ हजार ६ सय ३८ तथा भैँसीको सङ्ख्या २० हजार ६ सय ५० रहेकामा वृद्वि भई २१ हजार दुई सय ४२ पुगेको छ ।’
जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार एक सय ७८ मेट्रिक टन दूध बिक्री गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिँदा ९७ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ ।’
तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाह्य जिल्लामा समेत बिक्री–वितरण गर्न थालिएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले बताउनुभयो । कुल परिवार सङ्ख्या ८८ हजार पाँच सय ८३ रहेकामा कृषि पेसामा आबद्ध परिवार ५८ हजार पाँच सय ९५ र पशुपन्छीपालनमा आबद्ध ४९ हजार ६ सय ४० परिवार रहेका छन् ।
जिल्लामा ५६ प्रतिशत घरधुरी पशुपालनमा लागेको तथ्याङ्क छ । त्यसैगरी, पाँच हजार ३७ गाई, चार हजार चार सय १७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस