तनहुँ/ ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुशे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।
पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारको हेलाँहोचो सहन नसकेर वा निकालिएर यहाँ आएका छन् ।
कतिपय आफ्नो सहारा कोही नभए पछि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (मातातीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका हुन्छन् ।
देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयनीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झिँदा मन अमिलो भएर आउने गरेको बताउनुहुन्छ ।
औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उहाँले बताउनुभयो ।
श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘वृद्धावस्थामा निकै समस्या हुँदोरहेछ । छोराहरूको सहारा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी सहारा पाउनु ।’
अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, ‘अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।’ अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हुन् जस्तो लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँ विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आउनुभएको छ ।
दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आउनुभएको छ भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उहाँको वैवाहिक जीवन सफल हुन नसकेपछि उहाँ आश्रममा आएर बस्न थाल्नुभएको हो ।
जन्मिएका छोराछोरीहरू नबाँचेपछि श्रीमतीले पनि उहाँलाई छाडेर गए । एक्लो जीवन बिताउनका लागि आश्रममा आउनुभएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आउनुभएको छ ।
‘आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।’
बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आउनुभएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित हुनुहुन्छ । उहाँका भाइ र बहिनी बागलुङमा नै हुनुहुन्छ ।
अरुको दुःख देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उहाँले सुनाउनुभयो ।
परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने उहाँको अनुभव छ । ‘जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु’, उहाँले भन्नुभयो, ‘सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।’
देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पवासमा ३० जना कल्पवासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहनुभएको छ । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उहाँले बताउनुभयो ।
सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायत सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।’ सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपान र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताउनुभयो । दाताहरूको सहयोगमा भए पनि यहाँ रहनुभएका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उहाँले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।’
यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस