७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

बेनीको परिचय बन्ला त अरिङ्गाल ?



  • आफ्नै खबर
  • ७ भदौ २०८२ शनिबार (४ घण्टा अघि)
  • पाठक संख्या ६२
  • म्याग्दी/  म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पुर्याउन हम्मे परेको छ । 

    होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताउनुभयो । 

    ‘स्थानीयवासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि बेनीमा पाहुना आउनथालेका छन्’, उहाँले भन्नुभयो, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिङ्गालको उपभोग बढेको छ ।’ थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ । 

    प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य ६ सय देखि सात सय ५० रुपैयाँसम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिङ्गालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राइ गरेको अरिङ्गालको लार्भा शक्‍तिवर्द्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ । 

    खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिङ्गालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।

    गोलासहितको एक किलो अरिङ्गाल तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको अरिङ्गाल शिकारी तमबहादुर पुनले बताउनुभयो । अरिङ्गाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । 

     बेनी–६ जामूनाखर्कमा व्यवसायिक रूपमा अरिङ्गालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताउनुभयो । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ । 

    एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ । 

    अरिङ्गाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भीरमा हुने अरिङ्गाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिङ्गाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिङ्गाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिङ्गाल हुन्छन् । 

    आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ ।

    –रासस