भोजपुर/ सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
वडाले करिब ७५ हजार रुपैयाँ बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुत्केरी आमामा पोषणको कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
‘वडाका २० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेका छौँ’, माङ्गपाहाङ्गले भन्नुभयो, ‘आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर सामग्री दिएका हौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । कार्यक्रमले सुत्केरी र बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने अपेक्षा गरेका छौँ ।’
उक्त अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतनामूलक सन्देश पनि दिइएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस