आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा


  • आफ्नै खबर
  • २०८२ भाद्र ८, आईतबार मा प्रकाशित ५ महिना अघि
  • ३ पाठक संख्या
  • तनहुँ/  आँबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ) छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा उक्त तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । उनले केही दिनअघि सार्वजनिक भएको उक्त तहको परीक्षामा उत्तीर्ण भएका हुन् । 

    गाउँपालिकाले खाना, बस्नका लागि मासिक पाँच हजार रुपैयाँका दरले वार्षिक ६० हजार रुपैयाँ सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो ।

    गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।’

    चेपाङ विद्यार्थीको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

    विद्यार्थी अमृतसँग भेटघाट गर्दै उहाँले भन्नुभयो, ‘आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।’ 

    चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु