बेलायत/ बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए ।
झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच: गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभयो ।
मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच: गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको छ । मेलामा आयोजित अम्बास्डर कपको उपाधि पासा पुच: गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे ।
मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो । उहाँले नेपालीहरू जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस