२० भदौ २०८२ शुक्रबार | 05 Sep 2025 Fri

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच



  • आफ्नै खबर
  • ११ भदौ २०८२ बुधबार (१ हप्ता अघि)
  • पाठक संख्या ९०
  • म्याग्दी/  बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाः खल, मैजुः खल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् । 

    भाषा मंकाः खलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिनुभयो । यसअघि २०६२ सालमा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाचअन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन । थेत्तोरलाई धानको बाला नाचका रुपमा चिन्ने गरिन्छ । 

    थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताउनुभयो ।

    ‘परापूर्वकालमा रोजगारीका लागि छिमकी मुलुक भारत गएकाहरु घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रुपमा गीतमा प्रस्तुत गरिन्छ’, उहाँले भन्नुभयो, ‘मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवतीहरू र जोकरले गर्ने अभिनय रोचक हुन्छ ।’

    थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भएका थिए । नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ । बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीय मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो । 

    बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो । 

    दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरु भएको विश्वास छ । घण्टाकर्ण चर्तुदर्शीदेखि तीजका दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।

    यसवर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागनागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ । 

    लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

    –रासस