२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

तिजको समाजसेवा : विपन्न छात्रालाई शैक्षिक सामग्री



  • आफ्नै खबर
  • ११ भदौ २०८२ बुधबार (१ हप्ता अघि)
  • पाठक संख्या ९५
  • रामेछाप/  मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । 

    हरितालिकाको अवसर पारेर उहाँले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र  शिद्धेश्वर मावि गैराथोकका १०–१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका ६ जना र तामाकोशी  क्याम्पस  खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

    मन्थली क्याम्पसका ६ र खिम्ती क्याम्पसका १२  छात्रामध्ये मन्थलीका दुई र खिम्तीका चार गरी ६ जनालाई १८ हजार रुपैयाँ नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः चार र आठ छात्रालाई  ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो । 

    त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद १० हजार रुपैयाँसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये तीन–तीन जनालाई १० हजार रुपैयाँसहित र सात–सात जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले राससलाई बताउनुभयोे ।

    उहाँले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि,  वडा नं. ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि विद्यालय पोशाक प्रदान गरिने बताउनुभयो ।

    –रासस