२० भदौ २०८२ शुक्रबार | 05 Sep 2025 Fri

युवाको उमेर अब १८ देखि ३५ वर्ष



  • आफ्नै खबर
  • १२ भदौ २०८२ बिहिबार (१ हप्ता अघि)
  • पाठक संख्या १०३
  • काठमाडौँ/  युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

    यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’ भनेर उल्लेख छ ।

    २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताउनुभयो । 

    बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ वर्षसम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उहाँको भनाइ छ । संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ । 

    परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० वर्ष हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ ।’

    प्रत्येक पाँच/पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० वर्षपछि नीति संशोधन गरिएको हो ।

    –रासस