२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

भत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह



  • आफ्नै खबर
  • १३ भदौ २०८२ शुक्रबार (१ हप्ता अघि)
  • पाठक संख्या ११४
  • गोरखा/  गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।

    बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो ।

    सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरमा शिविर सञ्चालन गरिएको छ । 

    अर्यालका अनुसार काठमाडौँमा साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे । जसबाट २५० जनाले सेवा लिए । चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ । चितवनको घुम्ती शिविरबाट कम्तीमा पनि तीन सय जनाले सेवा लिने हाम्रो अनुमान छ ।

    पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका–११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।

    गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधोपचारका लागि काठमाडौँ तथा चितवनजस्ता सहरहरूमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो ।

    उहाँले भन्नुभयो, ‘वृद्धवृद्धा गाउँमा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचेयरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश पालिकावासी काठमाडौँ र चितवनमा बसोबास गर्नुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौँ ।’ शिविरमा एकजना एमआइएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधि खटिएका उहाँको भनाइ छ ।

    सिरानचोक गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधोपचारका लागि ती सहरमा बस्दै आएको अर्यालले बताउनुभयो । उनीहरू गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उहाँको भनाइ छ ।

    पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । गाउँपालिकाको चार हजार आठ सय जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिने गरेकामा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।

    सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

    पालिकाले यही साउनको अन्तिम साता काठमाडौँ र चितवनमा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ ।

    बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताउनुभयो । जसबाट चार सय २५ जनाले सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

    चितवनमा भएको शिविरमा एक सय २९ जना र काठमाडौँमा दुई सय ९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा दुई सय ४१ महिला र एक सय ८४ पुरुष छन् ।  

    गाउँपालिकाका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिका बाहिर रहेको आलेले जानकारी दिनुभयो । तीन हजारमात्र गाउँमा छन् । बाँकी पाँच सय जना गोरखा बजारमा, एक हजार जति चितवन र एक हजार पाँच सय जना काठमाडौँमा बसोबास गर्ने उहाँले सुनाउनुभयो ।

    चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षाभत्ताको कागजात नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताउनुभयो ।

    विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौ १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । शिविरबाट ६ सय जनाले सेवा लिने पालिकाको अनुमान छ । 

    अजिरकोट गाउँपालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो ।

    जसबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ ।

    –रासस