१८ भदौ २०८२ बुधबार | 03 Sep 2025 Wed

मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय



  • आफ्नै खबर
  • १३ भदौ २०८२ शुक्रबार (५ दिन अघि)
  • पाठक संख्या ८६
  • काठमाडौँ/  नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो ।

    मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रुपमा चिनिने भएको छ ।

    डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब नौ सय ६ वर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्न लागिएको हो ।

    डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएको स्थानीयको दुःख तथा पीडा बुझेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको पहल गरिएको मन्त्री शाहीले बताउनुभयो । 

    ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ कार्मारोङ गाउँपालिका–१ मा पर्छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसँग जोडिएको भूभागलाई छुट्याएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसँग माग गरेको थियो । योसँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।

    –रासस