१८ भदौ २०८२ बुधबार | 03 Sep 2025 Wed

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी

नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ



  • आफ्नै खबर
  • १३ भदौ २०८२ शुक्रबार (५ दिन अघि)
  • पाठक संख्या ७२
  • काठमाडौँ/  एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले हस्ताक्षर गरेका हुन् ।

    नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको कम्पनीले जनाएको छ । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौँ र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।’

    उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो । स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौँ ।’ 

    यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ । 

    सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको ग्यालरी बाइ हिमालयन जाभा आउटलेटहरू सञ्चालन गर्दै आइरहेको छ । 

    यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।