आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

दशैंका लागि भदौ २९ देखि नोट साट्ने व्यवस्था


  • आफ्नै खबर
  • २०८२ भाद्र १५, आईतबार ७ महिना अघि
  • ५६ पाठक संख्या
  • काठमाडौँ/  दशैँ, तिहारलगायत चाडलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

    बैङ्कको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैङ्किङ कार्यालय, राष्ट्र बैङ्कका प्रदेश कार्यालय र सबै बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । 

    ‘नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ’, राष्ट्र बैङ्कले सूचनामा भनेको छ, ‘साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।’ 

    चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैङ्कले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको  थियो ।

    आर्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कलाई बुझाउने गरेका छन् । 

    अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैङ्कले अनुरोध गर्दै आएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु