तनहुँ/ ऋषिङ गाउँपालिका–८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।
उत्पादित खुर्सानी प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ । बिक्रीका लागि बजारको समस्या छैन ।’
उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आएको किसान बताउँछन् । पहिलो चरणमा दुई लाख रुपैयाँभन्दा बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ ।
गाउँपालिकाले खुर्सानीका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । सुरुमा सामूहिक रूपमा ६ लाख रुपैयाँ लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताउनुभयो ।
वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ । अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।’
ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत)मा ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँका युवा बिदेसिनेक्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ ।’
उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत एक सय ४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ । तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।’
–रासस
प्रतिक्रिया दिनुहोस