१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

एक महिनामा भित्रिए ८८ हजारभन्दा बढी पर्यटक



  • आफ्नै खबर
  •     (३ महिना अघि)
  • पाठक संख्या ११७
  • काठमाडौँ/  सन् २०२५ को अगष्टमा ८८ हजार ६ सय ८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । 

    बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार पाँच सय पाँच अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छनभने चीनबाट सात हजार पाँच सय ३३ अर्थात् ८.५ प्रतिशत, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार नौ सय ५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार दुई सय ६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

    बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार एक सय ३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार सात सय ७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार एक सय ३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार चार सय ३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । 

    त्यसैगरी, अमेरिकाबाट सात हजार दुई सय ९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट नौ सय ४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट तीन सय २२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६ सय ४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।  

    सन् २०२५ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएका छन् । 

    कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौँ ।’

    –रासस