१८ भदौ २०८२ बुधबार | 03 Sep 2025 Wed

पर्यटकले बढाइदिए घोडा व्यवसाय



  • आफ्नै खबर
  • १७ भदौ २०८२ मंगलबार (२४ घण्टा अघि)
  • पाठक संख्या ८८
  • बागलुङ/  एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।

    कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा कुनै समय चिन्तित भएका किसानलाई अहिले भने राहत भएको छ । पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ ।

    ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ ।

    पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका–९ का खिमबहादुर विकले बताउनुभयो । उपत्यकाबाट बुकीपाटनसम्म जानआउन चार हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको उहाँको भनाइ छ ।

    घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको ५० देखि एक सय ५० रुपैयाँ लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेका उहाँले बताउनुभयो । 

    ‘करिब १०–१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन् । धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे । टाढाटाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउने/पुर्याउने गर्थे’, उहाँले भन्नुभयो, ‘केही वर्ष अघि भने घोडा खच्चड पाले पनि आम्दानी नभएपछि पाल्न छोडिएको थियो । अहिले दुई–चार जना पर्यटक बोके पनि कमाइ हुन्छ ।’

    ढोरपाटन पुग्ने पर्यटक उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् । पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताउनुभयो । 

    अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ । उहाँका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढिसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन् । 

    नियमनको अभाव
    व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । घोडामा चढेर एकपटक फोटो खिच्दा तीन सय रुपैयाँ तिर्नु परेको ढोरपाटन घुम्न आएका कुलदीप तामाङले बताउनुभयो ।

    सुरुमा एक सय रुपैयाँ भने पनि व्यवसायीले अन्तिममा तीन सय रुपैयाँ मागेको उहाँको गुनासो छ । पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । 

    ढोरपाटनमा पछिल्लो समय दैनिक दुई सय जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । बर्खामा वनफूलसँग रमाउने र हिउँदमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

    ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६ सय ९२ पुगेको छ ।

    –रासस