१८ भदौ २०८२ बुधबार | 03 Sep 2025 Wed

सात पालिकामा फैलियो रानी जमराको कार्यक्षेत्र



  • आफ्नै खबर
  • १८ भदौ २०८२ बुधबार (५ घण्टा अघि)
  • पाठक संख्या ६२
  • कैलाली/  राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ । 

    कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैङ्कको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ । यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । 

    आयोजना कार्यान्वयन भएसँगै बिजवृद्धिमा प्रगति भएको छ । टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छभने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा चार सय ५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ ।

    सागसब्जीखेतीबाट किसानलाई आत्मनिर्भर बनाएको छ । बसन्ते मकैखेती विस्तारमा आयोजनाले काम गरिरहेको छभने किसानलाई आधुनिक कृषिमा आकर्षित गर्न यान्त्रिकीकरणमा सहयोग रहेको एकाइ प्रमुख कँडेल बताउनुहुन्छ ।

    आयोजनाको तेस्रो चरणमा चैते धान विस्तार, बसन्ते मकै उत्पादन, आलु उत्पादनलाई बढी प्राथमिकता दिएर किसानलाई सहयोग गर्ने तयारी गरेको छ । चैते धानको उत्पादन उत्साहवर्द्धक भइरहेको र आयोजनाले सिँचाइको पहुँच पुर्याउने भएकाले चैते धानको उत्पादन मनग्गे हुने आयोजनाको विश्वास छ । 

    त्यसैगरी मकै उत्पादनमा जोड दिँदै पशुपन्छीको दानामा किसानलाई आत्मनिर्भर बनाउनतर्फ आयोजनाले ध्यान दिइएको छभने आयोजनाले आलुखेतीलाई रणनीतिक बालीका रूपमा अगाडि बढाउने योजना रहेको प्रमुख कँडेलले बताउनुभयो । कृषि उपज भण्डारण गर्न एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ । तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुनेछ ।

    –रासस