२० भदौ २०८२ शुक्रबार | 05 Sep 2025 Fri

शिक्षण र बुटिक पेसाबाट अघाएपछि ‘ड्रागन फ्रुट’ खेती



  • आफ्नै खबर
  • २० भदौ २०८२ शुक्रबार (४ घण्टा अघि)
  • पाठक संख्या ६
  • तनहुँ/  व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा  खेती गर्नुभएको हो । 

    सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागन फ्रुटखेती गर्नुभएको हो ।

    नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा एक करोड ५० लाख रुपैयाँ खर्च भएको उहाँको भनाइ छ । 

    नौ रोपनीमध्ये सात रोपनी जग्गामा ड्रागन फ्रुटको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित ड्रागन फ्रुट, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी भएको थियो ।

    यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा आठ लाख ५० हजार रुपैयाँ आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

    उहाँले भन्नुभयो, ‘यहाँ उत्पादित ड्रागन फ्रुट दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।’ आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म ड्रागन फ्रुट बिक्री हुने गरेको छ ।

    दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित ड्रागन फ्रुट बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।’

    ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ ।

    उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । 

    ड्रागन फ्रुटमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।

    –रासस