२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

राहुघाटमा दुई जलविद्युत् आयोजना बन्यो, तीनवटा बनिसक्न लाग्यो



  • आफ्नै खबर
  • २१ भदौ २०८२ शनिबार (३ घण्टा अघि)
  • पाठक संख्या ४
  • म्याग्दी/  रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८.८ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । 

    तुँदीपावर कम्पनीले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन् । 

    दुवै आयोजनाको विद्युत रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

    डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । 

    बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युतगृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।

    चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् । 

    रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले यही भदौदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको जानकारी दिँदै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको बताउनुभयो । 

    तीन अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र सिद्धार्थ बैङ्कले लगानी गरेका छन् ।

    कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठूलोखोलाको तीन हजार तीन सय ८२ मिटर सुरुङ र ६ सय ३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरेको हो । 

    रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध रहेको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको पाँच किलोमिटर तीन सय मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युत्गृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ ।

    चिमखोला–मङ्गले–राहुघाटसहित तुँदी पावर नै प्रवर्द्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ । 

    यसैबीच, अपर राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् ।

    –रासस