काठमाडौँ/ नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई एक सय १० मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गरेका छन् ।
समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत एक सय ३९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले एक सय चार मत प्राप्त गर्नुभयो ।
यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने निर्वाचित हुनुभएको छ । सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ ।
समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी), कमल धिताल (बाह्रखरी), भोजराज भण्डारी (कर्पोरेट समाचार), राजु बास्कोटा (क्लिकमाण्डु) र सीमा तामाङ (कान्तिपुर दैनिक) निर्वाचित हुनुभएको छ ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गर्नुभएको हो । त्यस अवसरमा उहाँले नवनिर्वाचित कार्यसमितिले सेजनको गरिमालाई थप उँचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षसमेत रहनुभएका झाले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस