२३ भदौ २०८२ सोमबार | 08 Sep 2025 Mon

पूर्ण सञ्चालनमा आयो कोरला नाका, स्याउ भने आयात गर्न नपाइने



  • आफ्नै खबर
  • २३ भदौ २०८२ सोमबार (४ घण्टा अघि)
  • पाठक संख्या ६
  • मुस्ताङ/  उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ । 

    आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

    उक्त नाकालाई व्यापारिक मार्गका रुपमा विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ । 

    यसैगरी यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीन जना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

    यहाँ साबिक एक जना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने पाँच जनशक्ति भन्सार जाँचका लागि तयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आइतबारदेखि हाजिर भइसकेको उहाँले जनाउनुभयो ।

    कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ । गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई गतिशील बनाउने योजना अघि बढाएको हो । 

    रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ । दुवै नाका बन्द भएपछि दसैँ र तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनियाँ सामान आयातमा समस्या परेपछि आयातकर्ता व्यापारीहरूले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाइदिन अनुरोध गरेका थिए । 

    आयातकर्ता व्यापारीहरूको अनुरोधलाई मध्यनजर गर्दै विभागले कोरला नाकालाई औपचापरिक रुपमा व्यापारिक मार्गका रुपमा सञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाइ छ ।

    रसुवागढी नाका र तातोपानी नाकामा बाढी पहिरोले समस्या आएपछि कोरलानाका वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याउन खोजिएको भए पनि यहाँको नाकामा आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

    स्याउ भने आयात गर्न नपाइने
    कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने सहमति भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । 
    सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकार भएकाहरूको बैठकले चिनियाँ स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको उहाँले बताउनुभयो ।  
    लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र व्यापारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । 
    स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

    –रासस