२७ भदौ २०८२ शुक्रबार | 12 Sep 2025 Fri

अर्ग्यानिक आलु बन्दैछ भोजपुरको आर्थिक श्रोत



  • आफ्नै खबर
  • २७ भदौ २०८२ शुक्रबार (४ घण्टा अघि)
  • पाठक संख्या ५०
  • भोजपुर/  यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ । 

    व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ-५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।’

    यस वर्ष गाउँघरबाट प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्म बिक्री हुँदै आएको किसानहरूको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताउनुभयो ।

    ‘मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ ।’

    मझौले गाउँका एक किसानले सात सय केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुखेती गर्दै आएको उहाँको भनाइ छ । यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार दुई सय ७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।

    –रासस