मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङमा कूल चार सय ७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार ०.०९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
आव २०८२/८३ मा यहाँका पाँचै पालिकाको कूल चार सय ७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार चार सय ९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । यस वर्षको आलु उत्पादकत्व १८.४७ मेट्रिक टन प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।
गत आव २०८१/८२ मा यहाँ चार सय ६० हेक्टर क्षेत्रफलमा आठ हजार चार सय ५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८.३८ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
उच्च भूगोल र यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु उपभोक्ता रुचाउने गर्छन् । चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा हुने उत्पादन विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आएको पाइन्छ ।
यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहभन्दा दुई हजार सात सय मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत/वैशाखमा आलुको बीउ रोपेर असोज/कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सहज पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकासे रातो आलु आंशिक रुपमा र बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गर्नुभयो ।
यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र १० प्रतिशत बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताउनुभयो ।
घरपझोङ-५ ठिनीका किसान महेन्द्र थकालीले आलु सहजै बिक्री हुने गरेको बताउनुभयो । उहाँले प्रतिपाथी यहाँको आलु दुई सय रुपैयाँमा बिक्री भएको उल्लेख गर्नुभयो ।
‘आलु उत्पादन गरेर हार्भेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्’, उहाँले भन्नुभयो, ‘पैसा नगद पाइने र आलु खनेपछि बजार पुर्याउनुपर्ने समस्या छैन ।’ उहाँले मुस्ताङमा उत्पादन हुने आलु पोखरा-काठमाडौँलगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।
आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरेको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस