३१ भदौ २०८२ मंगलबार | 16 Sep 2025 Tue

‘भोजपुरे खुकुरी’ बनाउनै भ्याईनभ्याई 



  • आफ्नै खबर
  • ३१ भदौ २०८२ मंगलबार (४ घण्टा अघि)
  • पाठक संख्या ६६
  • भोजपुर/  ‘भोजपुरे खुकुरी’को माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन सकेको छैन । परम्परागत खुकुरी बनाउने कालिगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा भोजपुरे खुकुरी निर्माणमा सङ्कट देखिएको छ । 

    दक्ष कालिगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । सीपको पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालिगड पेसा सङ्कटमा पर्दै गएको हो । 

    खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड अभावले उत्पादनमा कमी आएको स्थानीय कालिगड हर्कबहादुर विश्वकर्माले बताउनुभयो । कालिगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उहाँको भनाइ छ ।

    ‘पछिल्लो समय भोजपुरे खुकुरीको देश-विदेशबाट माग आउने गरेको छ’, उहाँले भन्नुभयो, ‘गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ  । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।’

    मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बताउनुभयो । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उहाँको भनाइ छ ।

    विगतका वर्षहरूमा धेरै कालिगड भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो । 

    विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।

    –रासस