१ असोज २०८२ बुधबार | 17 Sep 2025 Wed

पर्यटक लोभ्याउँदै ‘सुन्तले-बाघखोर’



  • आफ्नै खबर
  • १ असोज २०८२ बुधबार (४ घण्टा अघि)
  • पाठक संख्या ५३
  • भोजपुर/  यहाँस्थित सुन्तले-बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

    यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।

    बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन् । उहाँले भन्नुभयो, ‘सुन्तले-बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ । भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउने गर्छन् । यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउने गर्दछ ।’ 

    चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ । तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको तामाङ बताउनुहुन्छ ।

    भोजपुर-दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ । सहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि यो उत्तम गन्तव्य हो ।

    समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्करलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर-खोटाङ सिमानाको चखेवाभञ्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ ।

    पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ । यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ । विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र भेषभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भोजपुर सदरमुकामबाट सुन्तले १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ ।

    –रासस