आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

तीन दिनमा मुस्ताङ भन्सारमा उठ्यो झण्डै १० करोड राजस्व


  • आफ्नै खबर
  • २०८२ आश्विन २, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ४ पाठक संख्या
  • मुस्ताङ/  मुस्ताङ भन्सार कार्यालय न्हेछुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल/चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । 

    कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो ।

    चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म एक सय ६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेछुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

    चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उहाँले बताउनुभयो । यहाँबाट जाँचपास भइसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो ।

    मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताउनुभयो । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् ।

    चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका एक सय ६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

    चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उहाँको भनाइ छ ।

    बैङ्क तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र (एससी) खोल्न पर्ने व्यवस्था गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु