काभ्रेपलाञ्चोक/ अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल-भैँसेपाटीमा कालोपत्र सुरु गरिएको छ । वर्षाका कारण रोकिएको उक्त सडकखण्डमा बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा कालोपत्र सुरु गरिएको हो ।
भदौमा ‘सिटिबी’को काम सकेर कालोपत्र सुरु गरिएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएको थियो ।
जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार साँगातर्फ ‘सिटिबी’को काम भएपछि लगातार कालोपत्रलाई निरन्तरता दिइनेछ ।
बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब दुई सय मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार रोकिएको हो ।
बाटोको बीचबाट दुवैतर्फ ७५ फिटका दरले (एक सय ५० फिट)मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकामा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण अवरुद्ध पारेको जनाइएको छ ।
हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकमा ढल निर्माण भइरहेको छ । पुलबजारबाहेकको सूर्यविनायकदेखि धुलिखेलसम्मको अन्य स्थानमा भने खण्ड-खण्डमा काम भइरहेको खनालले बताउनुभयो ।
हाल एक किमी क्षेत्रमा सडक पक्की बनाइनाका साथै वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छभने केही दिनमा नै बनेपातर्फको सडक कालोपत्रको तयारी भइरहेको छ ।
साथै, अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार समयमा नै नसकिने भएको छ । आयोजनाले बाँकी करिब चार महिनामा विस्तार नसकिने जनाएको हो ।
२०७९ पुस २४ देखि सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।
हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ४० प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिनुभयो ।
साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि पहिलो चरणमा साँगा-धुलिखेलका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
–रासस
प्रतिक्रिया दिनुहोस