४ असोज २०८२ शनिबार | 20 Sep 2025 Sat

२३६ परियोजनामा ३३ अर्ब वैदेशिक लगानी आउने



  • आफ्नै खबर
  • ४ असोज २०८२ शनिबार (४ घण्टा अघि)
  • पाठक संख्या ५६
  • काठमाडौँ/  चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार दुई सय २५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

    विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । 

    त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगको एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा दुई अर्ब ८१ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    त्यसैगरी, पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा ६ अर्ब ६९ करोड २० लाख ५० हजार रुपैयाँ, सूचना प्रविधिमूलक उद्योगका एक सय २० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    पछिल्लो दुई महिनामा मात्र चार सय नौ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र एक सय सात जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ । उद्योग विभागले हालसम्म कुल सात हजार चार सय ७५ वटा परियोजनाका लागि ६ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ ।

    –रासस