५ असोज २०८२ आईतबार | 21 Sep 2025 Sun

महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो



  • आफ्नै खबर
  • ५ असोज २०८२ आईतबार (४ घण्टा अघि)
  • पाठक संख्या ६८
  • पर्वत/  सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं. ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो । 

    महाशिला-३ र वडा नं. ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो । झण्डै पाँच करोड रुपैयाँको लागतमा भवन निर्माण भएको हो । तीसवटा कोठा रहेको भवनबाट पालिकाका सबै शाखाको सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    साँघुरो र जीर्ण भवनबाट असहज रूपमा सेवा दिनुपरेकामा अब एउटै भवनवाट एकीकृत रूपमा सबै वडालाई पायक पर्नेगरी सेवा प्रवाह गर्दा नागरिक र कर्मचारी दुवैलाई सहज भएको प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ ।

    सेवा सुरु भए पनि भवन हस्तान्तरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा सानो पालिका महाशिलाका ६ वटै वडा कार्यालय भने बनिसकेका छन् ।

    पालिकाको भौतिक पूर्वाधार तयार भइसकेकाले अब सडक र शिक्षामा जोड दिन थालिएको छ । पालिकाको १० शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । बढ्दो बसाइँसराइलाई रोक्न गुणस्तरीय सडक र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । 

    सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बाहेक अन्य ६ पालिकाले आफ्नै भवन निर्माण गरिसकेका छन् । मोदी, पैंयू, विहादी र जलजला गाउँपालिकाका आफ्नै भवन बनेका छन् । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

    –रासस